
2026-06-03 (JST)
जापानमा बसोबास गर्नुहुने सबैका लागि,
यहाँ एच आइ भी /एड्स र समलिंगी यौन जीवनका बारेमा केहि महत्त्वपूर्ण जानकारी दिइएको छ। यो जानकारी “एच आइ भी म्याप” भन्ने एच आइ भी सम्बन्धि विस्तृत जानकारी दिने वेब साइटद्वारा तयार गरिएको हो।
एच आइ भी एउटा भाइरस/ जीवाणुको नाम हो, जसले एड्स लाग्दछ। शरीरमा एच आइ भी भाइरस भएका व्यक्तिहरुले अन्य व्यक्तिहरुलाइ एच आइ भी सार्न सक्दछ, यदि उनीहरुको शारीरिक तरल पदार्थ जस्तै विर्य वा रगत, अन्य व्यक्तिको सुक्ष्मआवरण अथवा खुल्ला घाउ चोटसंग सम्पर्कमा आएको खण्डमा। एच आइ भी संक्रमण प्रायः असुरक्षित यौन सम्पर्कबाट हुन्छ, जस्तै कन्डम प्रयोग नगरी वा प्रेप (एच आइ भी रोकथामका लागि प्रयोग गरिने औषधि) नलिइ यौन सम्बन्ध राख्दा, अथवा निर्मलीकरण नगरिएको सुईहरु साटासाट गर्दा हुन्छ। एच आइ भी दिनहुँ गरिने सामान्य गतिविधि जस्तै एउटै भाँडा कुँडा बाट खानेकुरा खाँदा, एउटै शौचालय प्रयोग गर्दा सर्दैन।
एड्स एउटा अवस्था अथवा रोगहरुको समूह हो, जुन एच आइ भी भाइरसले गर्दा लाग्दछ। एच आइ भी भाइरस शरिरमा प्रवेश गरिसकेपछी यसले रोग संग लड्न सक्ने क्षमतालाइ असर गर्दछ। केहि बर्ष भित्र , क्रमैसंग शरीरको रोगसंग लड्ने क्षमता कमजोर हुँदै जान्छ, जसले गर्दा शरिरमा रोगहरु लाग्ने सम्भावना अझ बढ्छ। जब शरीरको रोगसंग लड्न सक्ने लड्ने क्षमता यति धेरै कमजोर हुन्छ कि , उक्त व्यक्तिलाई सामान्य संक्रमणले पनि बिरामी बनाउँछ (त्यस्तो संक्रमण जसलाई एउटा सामान्य तरिकाले चलिरहेको शरीरको रोग प्रतिरोधात्मक प्रणालीले नस्ट गर्न सक्छ) यस अवस्थामा उक्त व्यक्तिलाई एड्स (एक्वयार्ड इम्युन डिफीसियेंसी सिन्ड्रोम) भएको छ भनिन्छ। यदि उक्त व्यक्तिले उपचार पाएन भने , रोगसंग लड्न सक्ने क्षमता अझै कमजोर हुँदै जान्छ र मृत्यु हुने धेरै सम्भावना हुन्छ।
जापानमा प्रत्येक वर्ष लगभग १,००० जना मानिसले आफू एच आइ भी पोजिटिभ भएको थाहा पाएकाछन्। रिपोर्ट भएका करिब ६०–७० प्रतिशत संक्रमण पुरुष–पुरुषबीचको यौन सम्पर्कबाट हुने गर्छ। समलिंगी यौन सम्पर्कबाट एच आइ भी संक्रमण हुने बिदेशी पुरुष नागरिकहरुको संख्या जापानमा धेरै बढेको छ। एच आइ भी परीक्षण नगरीकनै , तपाईं एच आइ भी पोजिटिभ हुनुहुन्छ भनेर थाहा पाउन असम्भव हुन्छ। त्यसैले धेरै जना मानिसलाई आफुमा एच आइ भी संक्रमण भएको थाहा नहुन सक्छ। यसको अर्थ यो हुन सक्छ कि, एच आइ भी संक्रमित भएका मानिसहरुको वास्तविक संख्या, हालको तथ्यांकले देखाएको भन्दा बढी हुन सक्छ।
कन्डम र प्रेप प्रयोग गर्नु एच आइ भी संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय हो। कन्डोम बिना गुदद्वार मैथुन (एनल सेक्स) गर्नु, तल रहने साझेदार (बटम पार्टनर) को लागि मात्र हैन, माथि रहने साझेदार (टप पार्टनर) को लागि पनि खतरापूर्ण हुन्छ। त्यसैगरि मुख मैथुन (ओरल सेक्स) गर्दा, यौनाङ्ग लाइ मुखले छुने/ लिने साझेदारलाई एच आइ भी संक्रमण हुने सम्भावना रहन्छ। तसर्थ सुरक्षित रहनको लागि, मुख मैथुन गर्दा पनि कन्डोमको प्रयोग गर्नु उचित हुन्छ।
कन्डम सस्तो हुन्छ र अन्य यौन सरुवा रोगहरू (STIs) को जोखिम पनि कम गर्न मद्दत गर्छ, त्यसैले यसको प्रयोग गर्न सिफारिस गरिन्छ। प्रेप भनेको एच आइ भी नलागेका व्यक्तिहरूले यौन सम्पर्कबाट एच आइ भी सर्न नदिन एच आइ भी विरुद्धको औषधि सेवन गर्ने प्रभावकारी उपाय हो। प्रेप सुरक्षित रूपमा प्रयोग गर्नका लागि सुरु गर्नु अघि एच आइ भी परीक्षण गरेर आफू एच आइ भी नेगेटिभ भएको पुष्टि गर्नु अत्यावश्यक हुन्छ। साथै, अन्य यौन सरुवा रोगहरू, मिर्गौलाको कार्यक्षमता, र सम्बन्धित स्वास्थ्य जाँचहरू नियमित रूपमा गरिरहनु पनि आवश्यक हुन्छ।
त्यस्तै, यदि कुनै एक जना साझेदारलाई अन्य यौन सरुवा रोगहरु जस्तै सिफिलिस (भिरिंगी), हर्पेस, क्ल्यमाइडिया आदि छ भने, एच आइ भी संक्रमणको सम्भावना अझै धेरै हुन्छ। त्यसैले नियमित रूपमा यौन सरुवा रोगहरूको परीक्षण गराउनु महत्त्वपूर्ण हुन्छ, र यदि तपाईंमा यौन सरुवा रोग सम्बन्धि लक्षण देखिएको छ भने, सकेसम्म चांडो चिकित्सकलाई देखाउनु पर्छ।
एच आइ भी को संक्रमण भएको २-४ हप्ता पछि, केहि व्यक्तिमा इन्फ्लुएन्जाको जस्तो लक्षण हरु देखिन्छ (जस्तै ज्वोरो, रुघा, खोकी ) तर केहि व्यक्तिलाई कुनै पनि यस्ता लक्षणहरु नदेखिन पनि सक्छ। त्यसैले लक्षणको भरमा मात्र एच आइ भी को संक्रमण भएको छ भनेर भन्न सकिन्दैन। एच आइ भी संक्रमण निदान गर्ने एक मात्र उपाय रगत परीक्षण गर्नु हो। तर असुरक्षित यौन सम्पर्क राख्ने बित्तिकै सिधै रगत परीक्षण गर्दा यसको सहि नतिजा नआउन सक्छ। सम्भावित जोखिमपछि करिब १ महिनापछि परीक्षण गर्न सिफारिस गरिन्छ, र त्यसपछि २–३ महिनापछि फेरि परीक्षण गर्नु उपयुक्त हुन्छ। यसका साथै, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू (MSM) ले एचआईभी परीक्षण नियमित रूपमा, कम्तीमा वर्षमा एक पटक गराउन सिफारिस गरिन्छ।
जनस्वास्थ्य केन्द्रहरुमा (होकेंजो) निशुल्क तथा गोपनीय तरिकाले एच आइ भी परीक्षण गर्ने सुविधा उपलब्ध छ। परीक्षण गराउन जाँदा तपाईंको नाम र ठेगाना बताउन आवश्यक हुँदैन। तपाईंको गोपनियता एकदमै सुरक्षित रहनछ। तर भाषा सहयोग प्रदान गर्न सक्ने कर्मचारी भएका जनस्वास्थ्य केन्द्रहरु निकै कम छन्। त्यसैले बहुभाषिक हेल्प लाइन अथवा भाषा अनुवादको सुविधा दिने संस्था हरु (NPO ) संग सल्लाह गर्नु उपयुक्त हुन्छ। अस्पताल अथवा क्लिनिकहरुमा पनि, परीक्षण गराउन सम्भव छ, तर यो निशुल्क अथवा गोपनीय नहुन सक्छ।
यदि तपाईंको एच आइ भी परीक्षणको नतिजा पोजिटिभ भनेर पक्का भयो भने, परीक्षण केन्द्रले तपाईंलाई एच आइ भी को उपचार गर्ने अस्पताल अथवा क्लिनिकमा रेफर गरिन्छ। जापानमा एच आइ भीसँग बाँचिरहेका व्यक्तिहरु लाई बस्न बन्देज लगाउने कुनै पनि कानून छैन, त्यसैले कानूनत: कसैले पनि जापान छोड्न आवश्यक हुँदैन। त्यस्तै स्वास्थ्य संस्थाहरुले सबै बिरामीहरुको (जुनसुकै देशको अथवा भिसा अवस्थाको भएपनि) उपचार गर्नुपर्ने हुन्छ। तर भाषा सहयोगसहित उपयुक्त सुझाव दिन सक्ने चिकित्सा संस्थाहरू सीमित छन्। त्यसैले कुन अस्पताल अथवा क्लिनिक जाने भनेर, जनस्वास्थ्य केन्द्र अथवा अरु संस्थाहरु (NPO) संग परामर्श गर्नु उचित हुन्छ। अस्पतालमा, तपाईंको रोग संग लड्न सक्ने क्षमताबारे अन्य जाँचहरु गरिन्छ र तपाईंलाई उपचारको बारेमा सुझाव दिइन्छ। ३ महिना भन्दा बढी जापान बसेको (काम, पढाई इत्यादिको लागि) लगभग जो कोहि पनि जनस्वास्थ्य विमा प्रक्रियामा संलग्न हुन सक्छन्, तर यसका केहि अपवादहरु छन्। जसको बारेमा तपाईंको काम गर्ने ठाउँ अथवा बिद्यालय/ विश्व बिद्यालयले सुझाव दिन सक्छन्। एच आइ भीसँग बाँचिरहेका व्यक्तिहरुलाई उपचार खर्च घटाउन सहयोग गर्ने सामाजिक कल्याणकारी सुविधाहरु पनि उपलब्ध छन्। यी सुविधाहरु लिनका लागि, अस्पताल अथवा संस्था (NPO) हरुका सामाजिक कार्यकर्ताहरुले सुझाव दिन सक्छन्।
एच आइ भी लाई शरीरबाट पूर्ण रुपमा निर्मुल गर्ने औषधि अहिले सम्म उपलब्ध छैन। तर एन्टी रेट्रो भाइरल औषधिहरु उपलब्ध छन्, जसले शरीरमा भाइरस/ जीवाणुको परिमाणलाई बढ्न बाट रोक्दछ। जापानमा यस्तो उपचार जुनसुकै राष्ट्रियता भए पनि सबैका लागि उपलब्ध छ। यी औषधिहरूको निरन्तर सेवनले एच आइ भीसँग बाँचिरहेका व्यक्तिहरूले दीर्घकालीन रूपमा राम्रो स्वास्थ्य कायम गर्न सक्छन् र एच आइ भी संक्रमण अघि जस्तै सामान्य दैनिक जीवन बिताउन सक्छन्। साथै, एचआईभी उपचार लिइरहेका र भाइरल लोड पत्ता नलाग्ने स्तरमा (undetectable) कायम गरेका एचआईभीसँग बाँचिरहेका व्यक्तिहरूबाट यौनसम्पर्कमार्फत एचआईभी सर्दैन, जसको अर्थ, नगण्य = नसर्ने (U=U: Undetectable = Untransmittable) हो। यी सबै कारणले गर्दा, एच आइ भी संक्रमणको अवस्था सकेसम्म चाँडै थाहा पाउनु र नियमित रूपमा अस्पताल गएर उपचार गराइरहनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। एकचोटी उपचार सुरु भैसकेपछि, दिनहुँ औषधि सेवन गर्नु महत्त्वपूर्ण रहन्छ। कथमकदाचित् एच आइ भी , एड्समा परिवर्तन भैसकेको छ भनेपनि, प्रभावशाली उपचारले शरीरको अवस्थालाई सामान्य बनाउन सक्दछ।